Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


भैरवको रथ आजपनि तानियो, भाँचियो रथको गजुर


0
Shares

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्‍याउनुपर्ने भएपनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।

विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुर्‍याउने परम्परा थियो ।

यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र बुधबार युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुर्‍याएको उनको भनाइ छ ।

राति नै रथलाई गःहिटी पुर्‍याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने सुरुमै दुई दिन रथ तानिएको छ ।

रथ तान्नेक्रममा रथको गजुर भाँचिएको छ । तीनतले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ ।

तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुर्‍याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य बुधबारैबाट सुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

उनले भने–‘रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौं ।’

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुर्‍याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिंगो उठाउने गरिन्छ ।

वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिंगो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुनः गःहिटीबाट भैरव र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । रासस