
बिराज रोस्यारा/ईमेज:
कैलाली, चैत ३० । टिम चौराहा धनगढीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै टीम चौराहा धनगढीले २५ लाख रुपैयाँ हात पारेको छ । गएको वर्ष पनि धनगढीले नै उपाधि जितेको थियो ।
धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।
१ सय २१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । तर, सन्नि पटेलले आक्रामक पारी खेले ।
१२ बलमा २२ रन बनाएका उनलाई धनगढीका रोहन मुस्तफाले बोल्ड गरे । त्यसपछि खेल टिम चौराहाको पक्षमा गयो ।
काठमाडौंका अमित श्रेष्ठले ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए ।
पुष्प थापाले १० बलमा १५, रसिद खान २ रनमा आउट हुँदा भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् ।
टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसाद शेख र योगेन्द्र सिंह कार्कीले एक÷एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
१२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए ।
धमलाले ६३ बलमा ७८ रन बनाए । ३ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भए ।
रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए । प्रतियोगितामा उनि म्यान अफ दी म्याच समेत घोषित भए ।
धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन ।
प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे ।
भण्डारीले सात खेलमा एक सय ८५ रन दिएका १४ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ फिगर २७ रन दिएर ४ विकेट लिएका थिए ।
यस्तै प्रतियोगिताको म्यान अफ द सिरीज पनि चौराहाका अलराउण्डर रोहन मुस्तफा बने ।
उनले पल्सरको एक थान मोटरसाइकल पाए । प्रतियोगितामा उनले एक सय ९८ रन बनाउनुका साथै नौ विकेट लिएका थिए ।
चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ ।
दुई बर्ष अगाडी धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहाले अघिल्लो बर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो ।
यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहाले २५ लाख रुपैयाँ पायो भने उपविजेता काठमाडौले १० लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्