
सिन्धुपाल्चोक, चैत ३० । दुई दशक लामो काठमाडौंवासीको मेलम्ची सपना २०७५ सालमा भने पूरा हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको अन्तिम ग्यालथुम-सिन्धु खण्ड सुरुङ छिचोलिएसँगै काठमाडौंवासीको मेलम्चीको पानी पिएर तीर्खा मेट्ने सपना पूरा हुने देखिएको हो ।
अढाई दशकअघि नै काकाकूल बनिसकेको काठमाडौंवासीलाई २०४६ को जनआन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छुभन्दा धेरैले मजाकमा उडाएका थिए ।
२५ वर्षअघि मेलम्चीको पानी काठमाडौंमा ल्याएर राजधानीवासीको तीर्खा मेटाउने विषय हँसिमजाक नै लाग्थ्यो । तर सरकारले अठोट गर्यो । दाता गुहार्यो । र दुई दशकमा यो सपना पूरा गर्ने मुखमा पुगेको छ ।
हुनत सुरुमा परियोजना डिजाइन गर्दाभन्दा समापनको मुखतिर आइपुग्दा परियोजना बजेटको आकार ह्वात्तै बढेको छ ।
तर त्योभन्दा पनि अहिले काकाकूल बनेको काठमाडौंलाई मुलम्चीको चिसो पानी कलकल खुवाउनु महत्वपूर्ण देखिएको छ ।
योबीचमा राज्यसत्तामा मात्रै परिवर्तन आएन दाताहरु नै पनि अदलबदल हुन पुगे । सबै सरकार र दाता अनि मेलम्चीवासीको सहयोग र सद्भावमा यो परियोजनाले पूर्ण रुप पाउन लागेको हो ।
पानी काठमाडौं ल्याउनका लागि सबैभन्दा कठीन मानिएको साँढे २७ किलोमिटर सुरुङ छिचोलिएसँगै आउँदो दशैंसम्ममा काठमाडौंवासीको धारामा मेलम्चीको पानी झर्ने देखिएको हो ।
विहीवार ग्यालथुम–सिन्धु खण्डको ७ दशमलव ५ किलोमिटर सुरुङ छिचोलिँदा कामदारदेखि सरकारी निकायका अधिकारीहरुमा खुशी पनि उत्तिकै छचल्किएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन नै पुगेका थिए । ३५ करोड ५० लाख अमेरिकी डलर खर्चिएको आयोजनामा एसियाली विकास बैंकले मात्रै १४ करोड ५० लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको हो ।
आयोजनाले तीन खण्डमा विभाजन गरेको सुरुङको यसअघि नै सुन्दरीजल सिन्धु खण्ड ९ किलोमिटर र ग्यालथुम अम्बाथान ९ किलोमिटरको काम सकिएको थियो ।
साँढे २७ किलोमिटर सुरुङमध्ये अझै २३ किलोमिटर फिनिसिङ गर्न बाँकी नै छ ।
रामचन्द्र देवकोटा कार्यकारी निर्देशक मेलम्ची खानेपानी विकास समिति परियोजना सम्पन्न भएर चालु भएलगत्तै आयोजनाले प्रतिदिन १७ करोड लिटर खानेपानी उपलब्ध गराउने छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्चीको पानी राजधानीसम्म पुर्याउन मेलम्ची समुदाय र सहयोगी संस्थाको भुमिका महत्वपुर्ण रहेकोमा प्रशंसा गरे ।
धुँवा, धूलो, फोहोर पानी, अस्तव्यस्त सडक अनि थामिनसक्नु चिच्याहटपूर्ण ट्राफिकमा जेलिएका काठमाडौंवासीलाई यस वर्षको दशैं भने मेलम्चीको चिसो पानी उपहार बन्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्