२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रदेश ४ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा पारित


0
Shares

पोखरा, चैत ३० । प्रदेश ४ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा पदाधिकारी तथा सदस्यको सुविधा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । प्रदेश ४ का सभामुखले ५३ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

पदाधिकारीका तलबसँगै अन्य सुविधा पनि व्यवस्था गरिएको छ । सभामुखसँगै सबै पदाधिकारी र सदस्यले प्रत्येक बैठक भत्ताबापत ७ सय ५० रुपैयाँ पाउने छन् ।

उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिलाई करिब बराबर तलब र समान सुविधाको व्यवस्था गरिएको छ । उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र समिति सभापतिले ४९ हजार तलब पाउनेछन् ।

दलका प्रमुख सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलब पाउने भएका छन् ।

सभामुखले आवास र सवारी साधनसँगै सञ्चार २ हजार, निजी सचिवालय बन्दोबस्तीका लागि २ हजार, इन्धन १ सय ५० लिटर, मोबिल १० लिटर, बिलअनुसारको धारा, बिजुली, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ हुनेछ भने अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ पाउने भएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले चैत १६ गतेको बैठकमा पेश भई दफाबार छलफलपछि प्राप्त प्रतिवेदनलाई पारित गर्न संसदमा प्रस्ताव गरेका थिए ।

यता, प्रदेशसभाको पदाधिकारी बन्न १० प्रतिशत थ्रेस होल्ड कायम गरिएको छ । संसदमा १० प्रतिशत सांसद नभएका दलले दलको सचेतक बन्न नपाउने गरी विधेयक पारित भएको छ ।

यस्तै नेपाली कांग्रेसका सांसद कुमार खड्काले सांसदमा नियमापत्ति जनाएका छन् ।

खड्काले शून्य तथा विशेष समयमा सांसदले उठाएका विषयको लत्याइएको भन्दै नियमापत्ति जनाएका छन् ।