१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बिस्केट जात्राको अवसरमा ५५ हात लामो लिङ्गो उभ्याइयो


0
Shares

भक्तपुर, बैशाख १ । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथो दिन हिजो साँझ ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइएको छ ।

तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् साँस्कृतिक रुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्राको अवसरमा लिंगो उभ्याइएको हो ।

नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप भेलुखेलमा हजारौं मानिसको सहभागीतामा ५५ हाते लामो लिंगो उठाइएको हो ।

मध्याह्नबाट भैरव र भद्रकालीको रथमा गुठी संस्थानले पूजा गरेर रथलाई तानेर भेलुखेल पु¥याएपछि विधि पूर्वक ईन्द्रध्वजासहितको लिंगो उभ्याउने परम्परा छ ।

आज दिनभर जात्रा गरी साँझ लिंगो ढाल्ने गरिन्छ । लिंगोको टुप्पोमा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजा समेत भनिन्छ ।

लिंगोमा फहराउने विश्वध्वजालाई स्थानीय भाषामा हलिंपतः भनिन्छ ।

हलिंलाई विश्व र पतःलाई ध्वजा भन्ने गरिएको हो । वर्ष परिवर्तन हुँदा यो ध्वजा पहराउँदा देशवासीको शुभ हुने, दुःखकष्ट क्षय हुने गौतमी पुराणमा उल्लेख छ ।

यो आधारले पनि वर्ष परिवर्तनका बेला विश्वध्वजासहितको लिंगो उठाउने परम्परा लिच्छवीकालदेखि चलिआएको छ ।

भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ ।