२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


विष सेवन गरेकी महिलाको मृत्यु, पक्राउ परे श्रीमान्


0
Shares

रौतहटको चन्द्रपुर नगरपालिका–९, मरधर निवासी २२ वर्षीया सानु बुढाथोकीको मृत्युको विषयलाई लिएर माइतीपक्षले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनका २४ वर्षीय श्रीमान् रामचन्द्र बुढाथोकीलाई पक्राउ गरेको छ ।

विष सेवन गरेको अवस्थामा मृतक महिला भेटिएपनि उनका काका रामेछाप, लिखु गाउँपालिका–६ निवासी माधव बरुवालले दिएको जाहेरीका आधारमा रामचन्द्र पक्राउ परेका हुन् ।

जाहेरीमा ‘मृतक महिलाको २४ वर्षीय श्रीमान् रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले ०७४ चैत २९ गते हत्या गरेको’ उल्लेख गरिएको छ ।

माइतीपक्षले हत्याको आरोप लगाएका छन् भने घरपक्षले भने आत्महत्या भएको दाबी गर्दै आएका छन् । यथार्थ के हो भन्ने विषय प्रहरीले बाहिर ल्याउन भने बाँकी नै रहेको छ ।

पछिल्ला दिनमा दबाबमासमेत घटनाको फरक अनुसन्धान भइ अदालतसम्म पुग्ने गरेको छ । त्यहीँबाट न्यायिक निरुपणसमेत हुने गरेको छ ।

पोस्टमार्टमका लागि मृतक महिलाको शव त्रिवि शिक्षण अस्पताल काठमाडौं, महाराजगन्ज पुर्‍याइएको छ । पोस्टमार्टम प्रतिवेदन नआउँदै घरको परिवारका सदस्यलाई हत्याको आरोपमा माइतीपक्षले जाहेरी दिएको हो ।

मृतक सानु बुढाथोकीको सामाजिक परम्पराअनुसार वि.सं. २०६८ सालमा रामचन्द्र बुढाथोकीसँग विवाह भइ एक छोरीको जन्म भएको छ । तर, ६ वर्षपछि विष सेवन गरेको अवस्थामा शव भेटिएपछि दाइजोको कारण देखाउँदै हत्या गरेको आरोपमा माइतीपक्षले जाहेरी दिएको छ ।

घटनाको अनुसन्धान भइरहेकाले हत्या या आत्महत्या भन्न अहिले नै नसकिने प्रहरीले जनाएको छ ।