१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग कुनै छलफल हुँदैन : परराष्ट्रमन्त्री


0
Shares

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ६ दिने चीन भ्रमणमा जानुपूर्व सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारे ।

बूढीगन्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको उनको भनाइ थियो ।

यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगन्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई दिने निर्णय गरेको थियो । तर, सो निर्णय शेरबहादुर देउवा सरकारले खारेज गरेको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीकोरुपमा पनि लिइएको छ । तर, मन्त्री ज्ञवालीले यस विषयमा स्पस्ट जवाफ दिन चाहेनन् ।

आफ्नो भ्रमणको उद्देश्य निर्वाचनपछिको सरकारको विदेशनीति र प्राथमिकताबारे चिनियाँ सरकारलाई जानकारी गराउनु रहेको उनले बताए ।

चीनले प्राथमिकतामा राखेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) नेपालको पनि प्राथमिकतामा रहेको भन्दै मन्त्री ज्ञवालीले दुवै देश मिलेर त्यसको ‘मोडालिटी’ तयार पारिने बताए ।

बीआरआईअन्तर्गत् नेपालको प्राथमिकता पूर्वाधार निर्माणअन्तर्गत् सडक, रेल र ट्रान्समिसन लाइन भएको उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने विषयमा चीन सरकारसँग कुरा हुने बताए ।