२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


इन्जिनियरिङ कलेजको विवादका विषयमा संसदीय समितिमा छलफल


0
Shares

काठमाडौं, मंसिर ३ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवादका विषयमा प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिले सोमबार दुवै पक्षसँग छलफल गरेको छ ।

सन्चालक समितिका सदस्यहरुबीच कलेज सामाजिक संस्थाकारुपमा सन्चालन गर्ने कि नाफामूलक संस्थाकारुपमा चलाउने भन्ने विषयको विवादले कलेज नै बन्द हुने अवस्था आएपछि समितिले दुवै पक्षलाई बोलाएर छलफल गरेको हो ।

सातजना सन्चालक समितिका सदस्यमध्ये पाँचजना नाफामूलक संस्थाकारुपमा दर्ता भएको कलेज त्यहीअनुसार सन्चालन गर्नुपर्ने पक्षमा छन् । दुईजना गैरनाफामूलक संस्थाकारुपमा सन्चालन गर्ने पक्षमा छन् ।

सन्चालकहरुबीचको विवादले कलेज नै बन्द हुने अवस्था आएपछि चाँगुनारायण नगरपालिकाका मेयर रामप्रसाद मिश्रले समस्या समाधानका लागि समितिमा निवेदन दिएका थिए ।

वि.सं. २०५१ सालमा सामुदायिक क्याम्पसकारुपमा स्थापना भएको कलेजलाई २०७४ सालमा पाँचजना सन्चालक सदस्यहरुले निजी संस्थाकारुपमा दर्ता गरेर सन्चालन गर्न खोजेको एक पक्षको तर्क छ ।

अर्को पक्ष भने नाफामूलक निजी संस्थाकारुपमा स्थापना भएकाले सोहीअनुसार सन्चालन गर्नुपर्ने अडानमा छ ।

सन्चालकहरुबीचको विवादले कलेजको बैंक खाता रोक्का गरिएको छ । यो विवाद अदालतमा विचाराधीन छ ।

सो कलेजमा अहिले २२०० जना विद्यार्थी अध्ययनरत् रहेका जनाइएको छ ।