काठमाडौं, मंसिर ३ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य प्रकाश दाहालको स्मृति दिवसमा सहभागीहरुले उनको योगदानको स्मरण गरेका छन् ।
सोमबार ललितपुरस्थित दाहाल निवास खुमलटारमा आयोजित पहिलो स्मृतिसभामा सहभागीहरुले प्रकाशको योगदानको स्मरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रकाशका बाबु एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकै भावुक बनेका थिए । उनी केहीबेर त बोल्नै सकेका थिएनन् ।
अध्यक्ष दाहालले प्रकाशको अवशानलाई सामना गर्नु आफ्ना लागि निकै कठिन भएको बताए ।
नेपालीहरुको माया र सद्भावलेमात्र पीडा सामना गर्न सकेको उनले उल्लेख गरे ।
पुत्र प्रकाश उदयीमान प्रतिभाकारुपमा परिपक्व हुँदै गएको बेला दुःखद् घटना हुन पुगेको अध्यक्ष दाहालले स्मरण गरे ।
कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष दाहालको संयमताको प्रशंसा गरे । दाहालले पुत्र निधनको पीडालाई संयमताका साथ सहेको भन्दै उनले जीवनलाई गतिशील बनाएर अगाडि बढ्नैपर्ने धारणा राखे ।
कार्यक्रमभर प्रकाशकी आमा सीता दाहाल भने निकै नै भावुक देखिएकी थिइन् । पुत्र प्रकाशको तस्वीर हेरेर आँशु झारिरहने उनलाई पुष्पकमलले सम्झाइरहेको देखिन्थ्यो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको पनि सहभागिता रहेको थियो ।
प्रकाश दाहालको गत वर्ष आजकै दिन काठमाडौंमा हृदयाघातका कारण निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्