
काठमाडौं, वैशाख ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने प्रष्ट पारेका छन् । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उनले बताए ।
एमाले अध्यक्ष केपी ओलीसँग आज गम्भीर ढंगले एकताका बारेमा वार्ता गर्ने पनि उनले बताए । दाहाल निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा उनले एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा गरेको बताएका थिए ।
तर, समाधान गर्नै नसक्ने अवस्थामा भने नरहेको उनको भनाइ छ । केही द्विविधा र शंका निवारण गर्दै एकता गरिने आश्वासन उनले दिएको दाहालनिकट स्रोतले जनाएको हो ।
एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन एकता घोषणा गर्ने भनिए पनि त्यो टरेको छ । विवादित विषयमा सहमति खोज्नका लागि एकता संयोजन समितिको बैठकले दाहाल र ओलीलाई जिम्मा दिएपछि दुई नेताबीच बिहीबार वार्ता भएको थियो । सो वार्तामा सहमति जुट्न नसक्दा फेरि वार्ता हुन लागेको हो ।
एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुबै पार्टीका कति–कति सदस्य रहने भन्नेमा सहमति बनेको छैन ।
प्रतिक्रिया दिनुहोस्