
शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अन्तिम समयमा आएर आइतबारसम्मका लागि स्थगित भयो ।
निर्वाचन समीक्षा गर्दागर्दै स्थगित भएर पुनः सुरु हुन लागेको यो बैठकमा केही युवा नेताहरुले निर्धारित् समयभन्दा चाँडो महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरिरहेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा भने महाधिवेशनको दुई महिनाभित्र गरिसक्नुपर्ने पदाधिकारी मनोनयन साढे दुई वर्षसम्म गर्न नसकेको भनेर भइरहेको आलोचनाको जवाफ दिँदै पदाधिकारी मनोनयनको प्रस्तावको तयारीमा रहेको बताइएको थियो ।
तर, बैठक अचानक दुई दिन पर धकेलिएपछि फुर्सद पाएका कतिपय केन्द्रीय सदस्यहरुले भने अब आरोप–प्रत्यारोप छाडेर पार्टीले नयाँ बाटो पक्डिनुपर्ने मत राखेका छन् ।
अघिल्लो बैठकमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच निर्वाचन समीक्षकाक्रममा निकै विवाद देखिएको थियो ।
दुवै पक्षले निर्वाचन हारको दोषी एकले अर्कोलाई देखाउने काम भइरहेको छ । तर, सुध्रने कसरी भन्नेतर्फ उनीहरुको खासै ध्यान गएको छैन ।
पार्टी सभापतिको बचाउमा देखिँदै आएका कांग्र्रेस नेता डा. प्रकाशशरण महतले पार्टीभित्र आलोचना गर्नुको साटो सत्तारुढ दलले गर्ने कमजोरीमा अब पार्टीको ध्यान जानुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि एकले अर्कोलाई गाली गरेरभन्दा पनि पार्टी सुधारको दृष्टिकोण अघि ल्याएर संगठन निमार्णमा लाग्नुपर्ने बताउँछन् ।
पौडेल समूहनिकट मानिने नेता नवीन्द्रराज जोशी पनि नेतृत्वबाट थुप्रै गल्ती, कमी–कमजोरी भएपनि कांग्रेसले निर्वाचन गराएर संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण रहेको बताउँछन् ।
संगठनलाई चुस्त बनाउँदै अबको निर्वाचनमा बहुमत ल्याउने ढंगबाट काम गर्नुपर्ने उनको भनाइ छ ।
नेतृत्वको कार्यशैलीका कारण कतिपय अवस्थामा समस्या भएपनि पार्टीलाई सुदृढ गर्नुको विकल्प छैन भन्छन्, नेता रामकृष्ण यादव ।
पार्टीभित्रको आन्तरिक समस्य बाहिर छताछुल्ल पारेर पार्टीमात्र कमजोर हुन्छ भन्ने धारणा राख्ने नेता रमेश रिजाल कांग्रेस कमजोर भइनसकेको भन्दै ‘सुधारेर लगे फेरि पनि बलियो र पहिलो बनाउन कठिन छैन’–भन्छन् ।
प्रतिक्रिया दिनुहोस्