२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ठेकेदारले रोक्यो मेलम्ची, ठेकेदारलाई ७० करोड रुपैयाँ बढी रकम


0
Shares

काठमाडौं, बैशाख ९ । सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ ।

मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए ।

उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ । काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन ।

अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ । सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ ।

चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो ।

सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ।

अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए ।

उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ । भुक्तानीको चिन्ता छैन ।

काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ ।’ आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन ।

अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ । –अन्नपूर्णपोष्ट दैनिकबाट