
काठमाडौं, मंसिर २ । नेपालको इतिहासलाई ‘वैकल्पिक अध्ययन’ धारको नयाँ रुपमा परिभाषित गर्ने बौद्धिक व्यक्तित्व इतिहासकार तथा प्राध्यापक डा. कमल प्रकाश मल्लको निधन भएको छ ।
लामो समयदेखि ‘पार्किन्सन्स’ र ‘अल्जाइमर्स’बाट ग्रसित उनको अमेरिकाको अटलान्टामा शनिबार राती निधन भएको जनाइएको छ । ८३ वर्षीय मल्ल त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत हुन् ।
उनले भाषा विज्ञान, नेपाल भाषालगायत विभिन्न भाषा, नेपाल संवत, संस्कृति र इतिहासमा वैकल्पिक अध्ययन धार दिएर मुलधारमा ल्याउन योगदान दिएका थिए । गहन अध्ययन र लेखनलाई प्राथमिकता दिएका इतिहासकार मल्ल त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्राध्यापक हुन् । मल्लले नै पहिलो पटक नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई राज्यले सम्बोधन गर्नु पर्ने मुद्दा पञ्चायतकाल मै उठाएका थिए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका भाइ धीरेन्द्र तथा प्रिन्सेप शाहलाई अंग्रेजी भाषासमेत पढाएका थिए । मल्लका दुई छोरा छोरी र श्रीमती छन् । मल्लको पार्थिव शरीरलाई मंगलबार अमेरिकामै अन्त्येष्टि गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्