Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


छोरो सम्झेर भक्कानिए दाहाल, गला अवरुद्ध भयो…


0
Shares

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छोपेको थियो ।

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्बाचनमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए ।

झापामा सभा सकेर उनी काठमाडौं फर्कने तरखरमा थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेजस्तै भए ।

‘अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी शर्मा ओलीजीको चुनावी क्षेत्रमा थिएँ,‘शनिबार दोलखा सदरमुकाम चरिकोटमा दाहालले बर्षदिन अघि घटना सम्झदै भने,‘राजधानी फर्कने तरखर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्.. ।’

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरु स्तब्ध बने ।

छोरो वितेको प्रसंगपछि भक्कानिएका दाहालको केहीबेर गला अवरुद्ध भयो । तुरुन्तै आफूलाई सम्हाले । प्रसंग मोडिहाले । -नागरिक दैनिकबाट