२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने


0
Shares

काठमाडौं, मंसिर १ । ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौं । सिक्नका लागि कुनै उमेर हुँदैन । हरेक घटनाबाट सिक्छौं । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौं । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’

उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो । नेपाली प्रशंसक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् ।

‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्नसक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ’–उनले भने ।

क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ले आफूलाई ब्रान्ड एम्बासडर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा शनिबार राजधानीमा बोलिरहेका थिए ।

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ को टी–२० खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् ।

उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रिमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।

‘त्यसपछि म बिग बास लिग (बीबीएल) खेल्न अस्ट्रेलिया जाँदैछु । डिसेम्बरको ५ मा बंगलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि, दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपीएल खेल्छु ।’

स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’को सुटमा सजिएका थिए ।

कार्यक्रममा गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२/२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकामा खुसी व्यक्त गरे ।

उनले दुई करोड ८० लाख जनसंख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गरे ।

‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनायौं त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’–अध्यक्ष अर्यालले गुनासो गरे ।

‘सुट्स द्याट फिट्स’का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताए ।

उनले चर्चित फुटबल खेलाडी डेबिड बेकह्याम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा संगीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताए ।

उनले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिए ।

‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिए ।

उनले टेलिभिजनमा छिट्टै देखापर्ने ‘को बन्छ करोडपति ?’का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिए । रासस