२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


३३ किलो सुन प्रकरणः यस्तो छ प्रहरी–गोरे ‘कनेक्सन’


0
Shares

सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो ।

मोरङ, उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेको अधिकारीहरू बताउँछन् ।

गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआइजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्यसमेत फेलापरेको छ ।

शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँगसमेत गोरेको सम्पर्क देखिएको छ ।

अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेलापरेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेलापरेको छ ।

खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेलापारेको छ ।

३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआइजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य फेलापरेको छ । तत्कालीन समयमा गोरेलाई सहयोग गरेका एसएसपी खत्री भने हाल फरार छन् ।

महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयानले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको देखिएको छ ।

सोही आधारमा छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेको हो । प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोड प्रस्ताव गरेका थिए ।

प्रस्तावबारे तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए । गोरेले कुनै हतकन्डा अपनाए गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनाका कारण गोरे भागेपछि घटनाले अर्को मोड लिएको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार ।