काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
पार्टी कार्यालय सानेपामा अपराह्न २ बजेपछि बस्ने बैठकमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको अन्योल हटाउनेबारे छलफल हुने बताइएको छ ।
तोकिएको मितिभित्र अधिवेशन गर्न नसकेपछि नेवि संघ आजबाट स्वतः भंग हुने भएपछि उत्पन्न अन्योल हटाउन केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा तदर्थ समिति बनाएर अधिवेशन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।
१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि आजबाट नेवि संघ स्वतः भंग हुने भएको हो ।
कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा नेवि संघमा ३२ वर्षे उमेर हद लगाउने विधान पारित गरेसँगै अधिवेशन अन्योलमा पर्दै गएको थियो ।
३२ वर्षे उमेर हद तोकेपछि नेवि संघभित्र मात्र नभइ पार्टीका शीर्ष नेतृत्व तहमा समेत विवाद उत्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्