Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्छुः प्रमुख शाक्य


0
Shares

काठमाडौं, बैशाख १७ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् ।

आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका हुन ।

शाक्यले भने, “नगरको विकास नागरिकका लागि हो त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ ।”

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासको काम गरिने बताए ।

वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिए ।

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माणजस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले बताए ।

कार्यक्रममा सहभागीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुव्र्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षणजस्ता काम पनि वडाले गर्नुपर्ने माग गरेका थिए ।
रासस