
नेपाल र चीन सीमानजिक तातोपानीको लार्चामा निर्माण हुने सुक्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा बिहीबार नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सुरु गर्ने सम्झौता भएको छ ।
नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एन्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण सुरु गर्ने सम्झौता भएको हो ।
चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी)ले बिहीबारैदेखि निर्माण सुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । भूकम्पले क्षति पुर्याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो ।
भूकम्पलगत्तै बन्द तातोपानी नाका सन्चालनमा ल्याउनसमेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो ।
तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सन्चालनमा ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो ।
यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतकाअनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सो कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिनेछ ।
सो परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बस्नेतले जानकारी दिए ।
आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो ।
द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै सुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।
बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोसी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ ।
हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि बिहीबारैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए ।
नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ ।
कार्यकारी निर्देशक बस्नेतले सुक्खा बन्दरगाह निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहजीकरण तथा अन्य भौतिक सहयोगसमेत उपलब्ध गराइने विश्वास दिलाए ।
चीन सरकारले तातोपानी नाका सन्चालनमा ल्याउने विश्वास दिलाएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनपहिले गरेको चीन भ्रमणकाक्रममासमेत सो नाका सन्चालनको विषयमा छलफल भएको थियो ।
सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ ।
गत चैत १ गते अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच भौगर्भिक विपद् व्यवस्थापन परियोजना सन्चालन र निर्माणलाई निरन्तरता दिने विषयमा सहमति भएबमोजिम चिनियाँ पक्षले तातोपानी सुख्खा बन्दरगाहको दोस्रो चरणको काम अघि बढाउन चीन रेल्वे १४औं ब्यूरो ग्रुप कम्पनी लिमिटेडलाई परियोजनाको मुख्य ठेकेदार तथा बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्यूट कम्पनी र सेन्याङ सुुपरभिजन एन्ड कन्सल्टेन्ट कम्पनीलाई आयोजना व्यवस्थापक कम्पनीकारुपमा छनोट गरिएको थियो ।
सो परियोजनाको कुल लागत करीब रु दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ ।
तातोपानी सुक्खा बन्दरगाहको पुनःनिर्माण सम्बन्धमा दोस्रो चरणको काम अगाडि बढाउने सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रिस्तरीय निर्णय गरी यायाताय विकास समितिलाई निर्देशन दिएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य रहेका अग्निप्रसाद सापकोटाले ‘सुख्खा बन्दरगाहको निर्माण सुरु भएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको बताउँदै नाका बन्दा हुँदा हजारौंको रोजगारी गुमेको, राष्ट्रिय राजश्वमासमेत क्षति पुगेको र व्यापार–व्यवसायमा समस्या पैदा भएको अवस्थामा बन्दरगाह पुनः निर्माण हुने विषयले सिन्धुपाल्चोकवासीलाई खुसी तुल्याएको छ’–भने ।
नेता सापकोटाले स्थानीय गाउँपालिका, स्थानीयवासी, राजनीतिक दल तथा नागरिक समाजले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्ने र दुई देशको सम्बन्धलाई थपमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाए ।
नेपाल–चीन सीमा जोड्ने मितेरी पुलबाट करिब ७ किमि तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो । करिब ९० रोपनी क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्