Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा


0
Shares

शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेकपा एमाले बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएका कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गरे ।

उनले भने–‘बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जाँदैन ।’

उनले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगतरुपमा अनुगमन गरी समितिसमेत गठन गरेर उक्त काम अगाडि बढेको उल्लेख गरे ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको बताए ।

सो अवसरमा उनले प्रदेश नम्बर–३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताए ।

प्रदेश सांसद वसुन्धरा हुँमागाइँले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताइन् । ‘ढुक्क हुनुहोस्, प्रदेशको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा नै हुन्छ’–उनले भनिन् ।

कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका संयोजक एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । रासस