
सार्क राष्ट्रको ‘नमुना पर्यटकीय गाउँ’ घलेगाउँको १९औं घलेगाउँ महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिलाई अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताए ।
‘हिजो ६/६ महिनामा सरकार बदलिने, विकास निर्माण र समृद्धि हुन नपाउने दुर्भाग्यपूर्ण सिलसिला थियो, अब त्यो रहँदैन’–उनले भने–‘हिजो प्रतिस्पर्धा गरियो, कसैले जितियो, कसैले हारियो । यहाँ जित्नेहरु पनि छौं, हार्नेहरु पनि छौं । प्रतिस्पर्धामा जे भयो, भयो सकियो । अब सबै मिलेर जनताको समृद्धि र विकासका लागि एकजुट भएर लाग्नुपर्छ ।’
मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने उल्लेख गरे । उनले जनताको जीवन र रोजगारीसँग नगाँसिएको पर्यटन अघि बढ्न नसक्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, पूर्वसांसदहरु जमीन्द्रमान घले, डा. भीष्मनाथ अधिकारीलगायतले घलेगाउँको पर्यटन विकासले लमजुङको आर्थिक समृद्धिमा टेवा पुगेको बताए ।
महोत्सव यही वैशाख २५ गतेसम्म चल्ने जनाइएको छ ।
६०० वर्ष पुरानो घलेगाउँ
हिमालै–हिमालको काखमा रहेको करिब ६०० वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ ।
यस्तै, सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यू टावर आदि घलेगाउँका आकर्षणहरु हुन् ।
१३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ ।
दक्षिण एसियाकै नमुना गाउँकारूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ ।
हाल दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।
प्रतिक्रिया दिनुहोस्