
जुटमिलको अनुगमन गर्न पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलमा भएको अनियमितताको विषयमा छानबिन गरिने र त्यसपछि जुटमिल सन्चालन गर्न पहल गर्ने बताएका हुन् ।
पटक–पटक बन्द हुँदै र सन्चालन गरिँदै आएको देशकै जेठो उद्योग विराटनगर जुटमिल पुनः सन्चालनमा आउने भएको छ ।
शनिबार विराटनगर जुटमिलको स्थलगत अनुगमनमा पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलको खास समस्या समाधान गरेर जुटमिल सन्चालनमा ल्याउने बताए ।
विगतमा भएका अनियमितता र भ्रष्टाचारको विषयमा छानबिन गर्न समिति गठन गर्ने पनि मन्त्री यादवले प्रतिबद्धता व्यक्त गरे ।
विराटनगर जुटमिलको सामान्य सन्चालन गत कात्तिकको पहिलो सातादेखि गरिएको थियो । तर, विभिन्न प्रक्रिया पूरा नगरेको र सेयर घोटाला भएको सार्वजनिक भएपछि मिल पुनः बन्द अवस्थामा छ ।
मन्त्री यादवले कर्मचारी, नेता, मन्त्री आफैं घुस खाने भएकाले सरकारी सम्पत्तिको दुरुपयोग भएको बताए ।
अनुगमनपछि आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर–५ का सांसद शिवकुमार मण्डलले मिल सन्चालन गर्ने नाममा जुटमिलका सामान बेचेर खानेहरुलाई कारबाही गर्नुपर्ने बताए ।
मिल सन्चालक समितिका सदस्य किशोर शाहीले जग्गा अतिक्रमण भएको, मिलका सरसामान हराएको, कर्मचारीले तलब नपाएको, ८० लाख मालपोत र डेढ अर्ब रुपैयाँ विद्युत्को बक्यौता पुगेकोबारे सरकारको ध्यानाकर्षण गराए ।
जुटमिलका कतिपय बहुमूल्य सामान हराएका छन् भने भवन तथा त्यहाँका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्