
जितेन्द्र भण्डारी/ईमेज:
पाँचथर, बैशाख २६ । ‘कृषि,उर्जा पर्यटन र व्यापार समृद्ध हिलिहाङ निर्माणको आधार’भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ महोत्सव सुरु भएको छ ।
यही बैशाख २८ गतेसम्म महोत्वसमा गाउँपालिका भित्र रहेका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलहरुलाई प्रचारप्रसार गरी प्रर्वद्धन गर्ने उदेश्य राखिएको छ ।
हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार,भोटेगढी,जोरपोखरी,सानो पाथिभरा,आगेजुङ गुम्बा, र कालापानी क्षेत्रलाई विकाश गरी पाथिभरा जाने तिर्थयात्रीहरुको धार्मिक मार्गको रुपमा विकाश गर्ने उदेश्य राखेर महोत्सव गरिएको आयोजकको भनाइ छ ।
पाथिभरा जाने तिर्थयात्रीहरुलाई एक दिन हिलिहाङ्मा बस्ने प्याकेज तयार गर्नुका साथै पूर्वाधार निर्माणको लक्ष्य महोत्सवले लिएको छ ।
महोत्सवमा विभिन्न स्टलहरु राखिएका छन् । जसमा हिलिहाङले प्रयोग गरेका हातहतियार, तत्कालिन भेषभूषा, स्थानीय उत्पादन चिया, राडीपाखी, ढाका, लोपोन्मुख हस्तकलाका सामाग्रीहरु छन् ।
त्यसैगरी जडीबुटि, खानाका परिकार,हिलिहाङका ऐतिहासिक र पर्यटकिय क्षेत्रको फोटो प्रर्दशनी स्टलमा राखिएको छ ।
नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाह र हस्तपुरका अन्तिम राजा हिलिहाङ योङहाङका सेनाबिच १७ पटकसम्म भएको युद्धमा दुबै पक्षको हारजित नभएपछि राजा हिलिहाङकै सक्रियतामा महत्वपूर्ण सम्झौता भएको थियो ।
पृथ्वीनारायण शाह र हिलिहाङबिच स्थानीय तहको शासन हिलिहाङले गर्ने र गोर्खालाई केन्द्रीय सरकार मान्ने सम्झौता भएको स्थानीयहरु बताउँछन् ।
महोत्सवको पहिलो दिन मुख्यमन्त्री शेरधन राईले हिलिहाङको शालिक अनावरण गर्नुका साथै दरबार क्षेत्रको अवलोकन गरेका थिए ।
यही बैशाख २८ गतेसम्म चल्ने महोत्वसमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै भलिबल प्रतियोगिता समेत गरिने छ ।
प्रतिक्रिया दिनुहोस्