
सिञ्जा, कात्तिक २८ । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ ।
असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो ।
समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताए । ‘उपचार गर्न लाखौँ रुपैयाँ ऋण लागेको छ, ऋण तिर्न समस्या छ,’ छोरीको उपचार गराउन जुम्ला आएका जनकले पीडा सुनाए ।
रमिलाको हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छोरीको उपचारका लागि विभिन्न व्यक्तिलगायतलाई गुहारे पनि सहयोग जुट्न नसकेको बुबा जनकले बताए ।
उपचारका लागि सुर्खेत झरे पनि त्यहाँ निको हुन नसकेपछि रमिलालाई भारतको लखनऊ लगिएको थियो । लखनऊमा उनको उपचारमा रु पाँच लाख ८० हजार खर्च भयो । ‘रकम अभाव भएपछि २१ दिनपछि घाउ पूर्णरुपमा निको हुन नपाउँदै घर फर्केँ,’ बुबा जनकले भने ।
असोज अन्तिमदेखि रमिलाको जुम्लामा उपचार भइरहेको छ । छिमेकीबाट ऋण काढेर जुम्ला पुर्याइएकी रमिलाको उपचारमा हालसम्म रु दुई लाखभन्दा बढी खर्च भइसकेको छ । ‘बस्न, खान र औषधि किन्न समस्या भएको छ,’ उनले भने ।
पढाइमा तीक्ष्ण रमिलाले खुट्टा गुमाएपछि पढाईमा बाधा पुगेको छ । चार कक्षामा पहिलो भएकी रमिला गाउँकै जनप्रिय आधारभूत विद्ययालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । पढ्ने चाहना भए पनि खुट्टा गुमाएका कारण उनलाई गाउँको विद्यालयमा पढाउन नसकिने उनका बुबा जनकको पीडा छ । (रासस)
प्रतिक्रिया दिनुहोस्