Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो


0
Shares

बैतडी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नेतृत्वले स्थानीय तहमा पार्टी समायोजन प्रक्रिया टुंगो लगाउन ढिलाइ गर्दै गएपछि स्थानीय तहबाटै समायोजन प्रक्रिया सुरु हुन थालेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको हो ।

पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो ।

६ स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने ४ स्थानीय तहमा  तत्कालिन नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाँउपालिकामा तत्कालिन एमालेको नेतृत्व रहने भएको छ ।

यस्तै दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सूर्नया गाउँपालिका र पञ्चेश्वर गाँउपालिकामा तत्कालिन माओवादीले नेतृत्व लिने सहमति भएको छ ।

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालिन पार्टीभन्दा अर्को पार्टीकोे ब्यक्ति रहने पनि निर्णय भएको छ ।

८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालिन पार्टीबाट ४२ जना र सचिवको तत्कालिन पार्टीबाट ३९ जना रहने छन् ।

यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालिन पार्टीबाट ३९ जना तथा सचिबको तत्कालिन पार्टीबाट ३६ जना सदस्य रहनेछन् ।