
विवेक भण्डारी/ईमेज:
नवलपरासी, बैशाख ३१ । नेपालमा रोजगारीका अवसर नभएको भन्दै दैनिक दुई हजार युवा विदेश पलायन भइरहँदा केही युवा भने सीप सिकेर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका छन् ।
यसबाट उनीहरु आफूले मात्र रोजगारी पाएका छैनन् अरुलाई समेत रोजगारी दिएका छन् ।
नवलपरासी कावासोतीका चन्द्रप्रसाद थनेल यतिबेला सफल व्यवसायी बनेका छन् । आफ्नै लगानीमा ३ वर्षअघि स्थापना गरेको लघु उद्यमका कारण उनी अहिले पर्याप्त आम्दानी गर्छन् ।
उनलाई न त विदेश ताक्नुपरेको छ न त आर्थिक अभाव नै छ । सुरुमा लघुउद्यम चलाउन सीप त थियो तर रकम अभावले समस्या पार्यो ।
तर पछि आफ्नै बहिनीसँग साठी लाख ऋण लिएर लघुउद्यम थालनी गरेको र व्यवसाय सुरु गरेको दुई महिनामै ऋण र व्याज चुक्ता गर्न सफल भएको अनुभव चन्द्र प्रसादको छ ।
ऋणधन गरेर सुरु गरेको व्यवसायबाट राम्रो प्रतिफल आउन थालेपछि चन्द्रप्रसादलाई झन उत्साह थपियो ।
आफ्नो उद्यमले दिनप्रतिदिन गति लिएपछि हाल १५ जनालाई रोजगारीको अवसर समेत मिलेको छ ।
केही समयपछि व्यवसायलाई थप विस्तार गरी २ सय जनालाई रोजगारी दिने योजना रहेको चन्द्रप्रसाद बताउँछन् ।
लघुउद्यमले उत्पादन गरेका भादगाउँले टोपीको दैनिक १ हजार माग रहेको छ भने ढाकाका झोला दैनिक ५ सय वटाको माग हुने गरेको थनेतको भनाइ छ ।
गाउँघरमा यत्तिकै रहनुपर्ने महिलालाई पनि लघुउद्यमले रोजगारी दिएको छ ।
जसले गर्दा दिन बिताउन पनि सजिलो हुने र आयआर्जनको राम्रो माध्यम भएको कामदार पुनम परियार र सरिता थनेल बताउँछन् ।
स्वदेशमै आफै केही गर्न चाहनेका लागि विदेशी भूमिको मुख ताक्नुपर्ने आवश्यक छैन भन्ने सन्देश पनि थनेलको सफलताले दिएको छ ।
थनेतले जस्तै देशका अरु युवाले पनि केही गरे देशमै रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्