७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माताको आराधना


0
Shares

काठमाडौं, कात्तिक २७ । छठ पर्वको मुख्य दिन मंगलबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मंगलबार मुख्य दिन हो ।

बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुलीझैं सिँगारेर छठ घाट बनाइएको छ । लाखौं भक्तजनले मंगलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजा–आराधना गरिन् । उनलाई श्री छठ पूजा समितिका पदाधिकारीले गुह्येश्वरी नदी क्षेत्रमा स्वागत गरेका थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् ।

रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए ।

आइतबार बिहान स्नान गरी चोखो–नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ ।

छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान सुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइमा काठमाडौं क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने जनाइएको छ ।

चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताए । रासस