
काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका कामको प्रगति विवरण अनलाइनमार्फत् अनुगमन गरिरहेका छन् ।
उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम–कारबाहीबारे नियमित अनुगमन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयका कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत् अनुगमन गर्छन् ।
‘सबै मन्त्रालयका सचिवले प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’–उनले भने–‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’
मन्त्रालयका काम–कारबाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैंले अनुगमन सुरु गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमितरुपमा सबै मन्त्रालयका कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए ।
‘प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ’–उनले भने–‘अनुगमनकाक्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैंले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।’
प्रवक्ता कुँवरले कार्ययोजनामा आएका समस्यालाई नीतिगतरुपमा प्रधानमन्त्री कार्यालयले समाधान गरिरहेको बताए ।
‘मन्त्रालयको नीतिगत र संरचनागत सहयोग हामीले गरिरहेका छौं’–उनले भने–‘तर तोकिएको समयमा काम सक्नुपर्ने निर्देशन छ ।’
सरकारले विकास र पूर्वाधारका काम द्रुतगतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई तोकिएका काम गर्न प्रधानमन्त्री ओलीले आफैं निर्देशन दिएका छन् ।
‘यसअघि वर्षायाम र चाडपर्व परेकाले विकास र पूर्वाधारका काम हुन सकेका थिएनन्’–‘प्रवक्ता कुँवरले भने–‘अब वर्षायाम र चाडपर्व सकिएकाले यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारका काम द्रुतगतिमा हुन्छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्