
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीकोबीचमा एकता भएको बताएका थिए ।
उनले टुटफुटको विगतको इतिहासलाईसमेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए ।
अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन भएका प्रयासकाबारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिनमा एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।
संघीय संसद, प्रदेश, स्थानीय तहमासमेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमासमेत खुसीको सन्चार भएको बताए ।
उनले एकीकृत पार्टीले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तकारुपमा अंगीकार गर्ने र तत्कालीन कार्यक्रमकारुपमा ‘समाजवादउन्मुख जनताको जनवाद’लाई अंगीकार गर्ने सहमति भएको जानकारी दिएका थिए ।
९ जनाको हेडक्वार्टर
एमाले र माओवादी केन्द्रको एकतापछि ९ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ ।
एकता संयोजन समितिमा रहेका ८ जना र थप एक सदस्य रहनेगरी सो व्यवस्था गरिएको सचिव भट्टराईले जानकारी दिए ।
एकता संयोजन समितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहनेछन् ।
सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ । पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता रहने सहमति भएको छ ।
माओवादीको केन्द्रीय सचिवालय बैठक
यस्तै, पार्टी एकताकाबारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको विषयमा जानकारी गराएका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा एकताकाबारेमा जानकारी गराएका थिए ।
बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यकाबारेमा छलफल भएको थियो ।
संयुक्त केन्द्रीय समितिको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ ।
बैठकमा एकता प्रक्रियाकाबारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ ।
सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव भट्टराईले बताए ।
दुवै पार्टीले बिहीबारमात्रै एकता प्रक्रियालाई अन्तिमरुप दिने निर्णय गरेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्