
बासुदेव बर्मा/
कपिलवस्तु, जेठ ४ । जिल्ला कृषि विकास कार्यालय कपिलबस्तुले यस बर्ष सहकारी खेती तथा साना सिंचाईका लागि ६० वटा पम्पसेट र १५ वटा सिडबिन वितरण गरेको छ ।
सहकारीमा आधारित साना सिंचाई स्किम संचालन तथा साना सिंचाई निर्माणका लागि कृषि समूह र सहकारीलाई गरी ती सामाग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले बताए ।
अनुदान पाउन जिल्लाका सय बढी समूहले प्रस्ताव पेश गरेका थिए । सो कार्यक्रम अन्तर्गत कुल १८ लाखको पम्मसेट वितरण गरिएको छ । कपिलबस्तु नगरपालिकाका मेयर किरन सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले कृषकहरुलाई ती सामाग्री वितरण गरेका हुन् ।
प्रत्येक समूहलाई ५ हर्ष पावरको एक थान पम्पसेट, सेक्सन पाईप, चेकवाल लगायतका सामाग्री उपलब्ध गराईएको छ । प्रत्येक समुहलाई रु ३० हजार बराबरका दरले रकम लागेको प्रमुख खाँले बताए । जसमा समूहको १५ प्रतिशत रुपैयाँ समेत लगानी रहेको छ ।
विभिन्न प्रकृया अपनाएर समूह छनौट गरिएको कृषि कार्यालयका प्रमुख खाँले बताए । गत बर्ष पनि सय बढी कृषि समूहलाई साना सिंचाईका लागि अनुदान दिईएको थियो ।
कृषि कार्यालयमा दर्ता रहेका कृषि समूहमध्ये विगतका बर्षमा अनुदान नपाएकालाई नै प्राथमिकतामा राखेर समुहको छनौट गरिएको जनाईएको छ । ब्यवसायिक कृषि उपजतर्फ कृषकहरुलाई उन्मुख गराउन सरकारी नीति अनुसार अनुदान दिईएको प्रमुख खाँको भनाइ छ ।
जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि सिंचाई अभावले कृषकहरु आकाशे पानीको भरमा बस्नु पर्छ भने २० हजार हेक्टर क्षेत्रमा मात्र सिंचाई सुविधा छ ।
प्रतिक्रिया दिनुहोस्