हेटौंडा । पेट्रोलियमबाट चल्ने सवारी साधन विस्थापित गर्ने घोषणा गरेको प्रदेश नम्बर ३ सरकारले मुख्यमन्त्रीका लागि विद्युतीय कार खरिद गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलका लागि प्रदेश सरकारले विद्युतीय कार खरिद गरेको हो ।
प्रदेश सरकारले सूर्या गुड्स सप्लाई प्रालिमार्फत चीनमा निर्मित बी वाइ डी कम्पनीको विद्युतीय कार खरिद गरेको हो ।
यो कार दुई घण्टा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म चल्ने बताइएको छ ।
३ सय १७ भोल्ट क्षमताको यो कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ ।
पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारको मूल्य ५५ लाख रुपैयाँ परेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र प्रदेशबाट पेट्रोल र डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने उल्लेख गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्