Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


काँग्रेसभन्दा कम्युनिष्ट खर्चालुः चियापानमा कति भयो खर्च ?


0
Shares

काठमाडौं । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् ।

कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल संवतका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रष्ट हुन्छ ।

हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्याकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस वर्षको चियापानमा नेकपाको खर्च काँग्रेसको भन्दा चार गुणाले बढी देखिएको छ ।

अहिलेसम्म प्राप्त खर्च तथ्याङ्कअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपियाँ खर्च गरेको देखिएको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक आयोजित उक्त कार्यक्रममा ५० हजार जनालाई निमन्त्रणा गरिएको नेकपाको दावी थियो ।

नेकपाद्वारा आयोजित चियापानमा खाजामा मात्र २९ लाख रुपियाँ खर्च भएको छ ।

चियापानमा उपस्थिति भएका आमन्त्रित पाहुना तथा नेता÷कार्यकर्तालाई चिया, कटौरी, निम्की केराको परिकार खुवाइएको थियो ।

नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेम पौडेलले खाजामा मात्र २९ लाख रुपियाँको बिल आएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘३२ लाखको बिल कार्यालयमा प्राप्त भएको छ अझै आठ लाखको बिल आउने अनुमान गरेका छौं ।’ -नेपाल समाचारपत्र दैनिकबाट