२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


छथरजोरपाटी गाउँपालिकामा घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई उपचार


0
Shares

धनकुटा, जेठ ५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गराउन थालेको छ ।

गाउँपालिकाले ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिन थालेको हो ।

बुढ्यौलीका कारण नियमित स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य केन्द्र र अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई स्वास्थ्यसम्बन्धी परामर्श, औषधि सेवनको तरिका र निःशुल्क औषधि वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

तेलिया, तांखुवा, परेवादिन र हात्तीखर्कलगायतका स्थानमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको समूह जेष्ठ नागरिकको उपचारका लागि खटिएका छन् ।

१५ दिन यता गाउँपालिकाले करिव ३ सय ५० ज्येष्ठ नागरिकको उपचारमा सहयोग गरिसकेको छ ।

ग्रामीण क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकमा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप र आँखाको समस्या पाइएको छथरजोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताए ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले हरेक चार महिनामा प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षणको व्यवस्था गरिने जानकारी दिए ।

ज्येष्ठ नागरिकको उपचार र औषधि वितरणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ६ लाख रुपैयाँ छुट्याएको छ ।