२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


श्रीपेचको आकृति र पाँच थरीका चमेरा हेर्न पाइने सिद्धगुफा ओझेलमा


0
Shares

उपेन्द्र खनाल/ईमेज:
तनहुँ, जेठ ५ । तनहुँको विमलनगरस्थित सिद्धगुफा ओझेलमा परेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि गुफाको प्रसारप्रसार नहुँदा ओझेलमा परेको हो ।

पृथ्वी राजमार्गको नजिकै भए पनि गुफाको प्रचारप्रसारमा सरोकारवाला निकायले ध्यान नदिएको गुनासो स्थानीयको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको सिद्ध गुफा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि यसको प्रचार हुन सकेको छैन । २०४४ सालमा जंगलमा घाँस काट्न जानेहरुले गुफा पत्ता लगाएका थिए ।

त्यसपछि गुफाको प्रचार गर्ने प्रयास सुरु भएको थियो । तर प्रचारप्रसार विनै २०६० सालदेखि गुफामा जाने व्यवस्था भने गरिएको छ ।

सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले पर्याप्त प्रचार गर्न नसके पनि गुफामा दैनिक केही पर्यटक पुग्ने गरेको बताए ।

गुफाको प्रचार गर्न २०६४ सालमा प्रथम सिद्धगुफा महोत्सवसमेत गरिएको थियो । त्यसबेला ५१ हजार रुपैयाँ संकलनसमेत भएको थियो । त्यस यता भने कुनै महोत्सवसमेत गर्न सकिएको छैन ।

तर स्थानीयबासिन्दाले गुफाको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्ने पहल जारी राखेका छन् । गुफाको अवलोकन गर्न पुग्नेहरुले गुफाभित्रको दृश्यले निकै आकर्षित पार्ने गरेको बताउँछन् ।

सिद्धगुफा विकास समितिले गुफा अवलोकन गर्न आउने आन्तरिक पर्यटकसँग २० रुपैयाँ र वाह्य पर्यटकसँग एक सय रुपैयाँ लिने गरेको छ ।

वार्षिक खर्च कटाएर तीन लाख रुपैयाँ बचत हुने गरेको सिद्ध गुफा विकास समितिले जनाएको छ ।

हिन्दु धर्मावलम्वीहरुका चाडपर्वमा सिद्ध गुफामा विशेष घुइँचो लाग्ने गरेको छ ।

शिवरात्री मेला, कात्तिकमा फूलको डोली टाँग्ने र साउन महिनाभर वोलवम धाम लाग्ने हुँदा मानिसको चहलपहल बढी हुने गरेको सिद्धगुफा विकास समितिले जनाएको छ ।

गुफाभित्र राजाको श्रीपेच जस्तो देखिने आकृति, शंख, ऋषिमुनी तपस्या गरेर बसेको जस्तो र गुफामा लोप हुन लागेका पाँच थरीका चमेरा समेत देख्न सकिन्छ । ४४० मिटर लम्वाई रहेको गुफा अन्यभन्दा पृथक छ ।

गुफामा जति भित्र गयो त्यति धेरै अक्सिजनको मात्रा बढी पाइने छ ।

सिद्ध गुफा अवलोकनका लागि वार्षिक १० हजार पर्यटक भित्रिने गरेका छन् । बन्दीपुरको रमणीय स्थानहरु घुमेर आन्तरिक पर्यटकहरु सिद्ध गुफा अवलोकनको लागि झर्ने गरेका छन् ।

गुफाको २०० मिटर भित्र ¥यापलिङ साहसिक खेलको आनन्द लिन सकिने व्यवस्था गरिएको छ ।

यो खेल खेल्दा याङ्कर ढुङ्गामा खोपेर अड्काइन्छ र माथिबाट डोरीको सहायताले भित्र झरिने गरिन्छ ।

डाँडाको बाहिरी भागबाट गुफाभित्र झरिने यो साहसिक खेल नयाँ हो । त्यस्तै यो खेलको लागि सिद्ध गुफा विकास समितिले २५० रुपयाँ लिने गरेको छ ।

हालसम्म ५ हजार भन्दा बढीले यो खेलको मज्जा लिइसकेका छन् । तर गुफाबारे अझै बढी प्रचार गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।