१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


१९८० को दशकयताकै खराब विमान दुर्घटनाका कारण क्युबा शोकमा (१० तस्वीर)


0
Shares

क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो ।

त्यसमा परी १०१ जना यात्रीको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् ।

मृत्यु हुने यात्रीहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ ।

उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर, जीवित तीनजना पाइएकाले ती तीनजना चालक दलका सदस्य हुन् वा यात्री भन्नेबारेमा अझै खुलेको छैन । जीवित तीनजनाको अवस्था भने अत्यन्तै गम्भीर छ ।

जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुवाँको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो ।

क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्याबारे कुनैपनि पूर्वसूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।

उद्धारकार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए ।

परिचालित सबैजनाले उद्धारको काम थालेको भएपनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रीहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्री रहेको जनाएका छन् । त्यस विमानमा चालकदलका पाँचजना सदस्य सवार रहेको अधिकारीहरुले बताएका छन् ।

चलकदलका सदस्यमध्ये पनि लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीनजनालाई अस्पताल भर्ना गरिएको छ ।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ । सो विमान क्युबाको सरकारी एअरलान्सको जहाज हो ।

हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भू–भागमा पर्ने ओल्गीन सहरतर्फ जान लागेको थियो ।

क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलकोे भ्रमण गरेका छन् । राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गरेका छन् ।

उनले ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएकाले देश स्तब्ध भएको बताए । सरकार र आफ्नो पार्टीको तर्फबाट उनले समवेदना प्रकट गरेका छन् ।

क्युबामा सन् १९८० को दशकयता पहिलोपटक यो ठूलो र दुःखद् दुर्घटना भएको छ । यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ ।

यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्यमात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरु आइरहेका छन् ।

उडेलगत्तै कसरी विमान खस्न पुग्यो ? भन्नेबारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन् ।

निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के–कति कारणले खस्न पुग्यो ? भन्नेबारेमा चुस्तरुपमा अनुसन्धान थालिएको उड्डयन अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा