
लन्डन । चितवन घर भई बेलायतमा बस्दै आएका नेपालीहरुको संस्था चितवन एड ट्रष्ट (क्याट यूके)ले आगामी डिसेम्बर–२ आइतबारका दिन च्यारिटी गर्ने भएको छ ।
मानवीय तथा कल्याणकारी योजनाहरु सम्पन्न गर्न आर्थिक सहयोग संकलन गर्ने उदेश्यले ह्यारो फुटबल क्लबमा च्यारिटी कार्यक्रम गर्न लागेको हो ।
सन् २००४ मा स्थापना भएको ट्रष्टले मातृभूमिका लागि दर्जन बढी प्रोजेक्टहरु सम्पन्न गरिसकेको छ ।
संस्थागत रूपमा बलियो अनि बेलायतमा पनि सम्मानजनक स्थान लिन सफल क्याट यूकेको यो पहिलो च्यारिटी भने नभएको आयोजकको भनाइ छ ।
शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपमा साथ दिंदै आएको क्याट यूके विवादरहित संस्थाका रुपमा चर्चित छ ।
सन २०१४ बाट बेलायतमा कम्पनी ऐन अन्तर्गत बैधानिक रुपमा दर्ता भई च्यारिटीको लागि आवश्यक सम्पूर्ण प्रशासनिक कार्य सकेको क्याट यूकेले डिसेम्बर ,२ मा हुने च्यारिटी तथा विशेष कार्यक्रमका लागि समाजसेवी शान्ताविनोद लामिछानेलाई संयोजक तोकेको छ ।
स्थापनादेखि छ वटा अध्यक्ष दिइसकेको संस्थामा वर्तमान सातौं समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठ हुन् ।
उपाध्यक्षहरूमा भगवती रानाभाट, जीवन सेन र यादव श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ , महासचिवमा राजेन्द सुवेदी, उप महासचिव शालिक सापकोटा, सह कोषाध्यक्ष दिपेन्द्र अधिकारी छन् ।
ट्रष्टको सदस्यहरु क्रमशः राजु आचार्य, शिव भण्डारी, मदनकुमार श्रेष्ठ, भिम सापकोटा, तारा अर्याल, उपेन्द्र पौडल, आनन्द धरेल, पार्वती न्यौपाने, सूर्य तामाङ्ग, मुना पौडेल, जगत पौडेल ,विकाश सापकोटा र रघु ढकाल रहेको २१ सदस्यीय कार्यसमिति रहेको छ ।
संस्थाले यसअघि डा. महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र, राष्ट्रिय आधारभूत विद्यालय माडी, राष्ट्रिय प्राथमिक विद्यालय बद्रहानलाई आर्थिक सहयोग गरिसकेको छ ।
त्यस्तै, भरतपुर आँखा अस्पतालमा आइ बैंक स्थापनालाई सहयोग, बेलायतमा प्रस्तावित ‘नेपाल भवन’ स्थापना गर्न एनआरएन युकेलाई सहयोग, चितवनस्थित मानव सेवा आश्रमलगायतलाई पनि सहयोग जुटाइसकेको छ ।
विनाशकारी भूकम्पका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, चेपाङ समुदायकालागि आवास निर्माण, चितवन साहित्य परिषद्को भवन निर्माणका लागि पनि सहयोग गरिसकेको छ ।
त्यसबाहेक आश्रयविहीन बालबालिका, बाँदरमुढे घट्नाका पीडित, जनआन्दोलनका घाइतेलाई रगत साथै विभिन्न शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्