Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पहिलो चौमासिक सकिन लाग्दा डेढ प्रतिशतमात्र बजेट खर्च (भिडियो)


0
Shares

ध्रुब भट्टराई

विराटनगर, कात्तिक २६ । प्रदेश नं १ मा आवश्यक कर्मचारी र संरचनाको अभावमा बजेट खर्च नगन्यजस्तै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा पनि प्रदेश सरकारले डेढ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । जसले गर्दा बजेट कार्यान्वयनमा थुप्रै आशंका जन्माएको छ । 

चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन अब १५ दिनमात्र बाँकी छ । तर प्रदेश नम्बर १ मा बजेट खर्च निकै सुस्त देखिएको छ । आर्थिक ०७५/७६ का लागि प्रदेश सरकारले लागि ३६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९२ करोड २८ लाख र पुँजिगततर्फ १८ अर्ब ५० बजेट विनियोजन गरेको छ । पहिलो चौमासिक सकिन लाग्दा पनि प्रदेश सरकारले भने कुल बजेटको डेढ प्रतिशतमात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख बालकृष्ण थापाले बताए ।

बजेट खर्च हुन नसकेकोप्रति प्रदेश सरकार भने संघीय सरकारलाई दोष थोपरेर उम्किन खोजेको देखिन्छ । प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने संरचनाहरु समयमै हस्तान्तरण नगर्दा यो समस्या देखिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए ।

साथै संघीय सरकारले समयमै पर्याप्त कर्मचारीहरु समेत नपठाउँदा काम गर्न असहज भएको उनको भनाइ छ । 

सामान्यतया पहिलो चौमासिकमा करिब २० प्रतिशत हाराहारीमा बजेट खर्च हुनुपर्थ्यो तर डेढ प्रतिशत खर्च, त्यसमा पनि विकास खर्च शुन्य हुनुले ठूलो लज्जाबोध गराएको छ । तदनुरुप प्रदेश सरकारको पनि पहिलो चौमासिकमा न्युनतम १८ देखि २८ प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य रहेको थियो र सोही अनुसार बजेट बाँडफाँट हुने भएको थियो । यस्तो धिमे गतिमा बजेट खर्च हुनुले कतै विगतमाजस्तै आर्थिक वर्षको अन्त्यतिर हतारहतारमा बजेट सक्ने लहड चल्ने त होइन ठूलो आशंका जन्माएको छ  । 

भिडियो रिपोर्ट हेर्नुहोस्