
काठमाडौं, जेठ ७ । ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले विवादास्पद चुनावमा विजय हासिल गरेका छन् ।
दोस्रो चरणको चुनावबाट उहाँ छ वर्षको लागि पुनः निर्वाचित हुनु भएको हो । तर चुनावमा धाँधलीको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिष्कार गरेका थिए ।
मुख्य विपक्षी उम्मेदवार हेन्री फाल्कनले मतदान सकिएलगत्तै नतिजा अस्वीकार गर्ने जनाएका थिए ।
सरकारी अधिकारीहरुले भने चुनाव निष्पक्ष र धाँधलीरहित भएको दाबी गरेका छन् ।
खाद्यान्न संकट र गहिरिँदो आर्थिक दूरावस्थाकाबीच सम्पन्न चुनावमा ४६ प्रतिशत मात्र मत खसेको थियो । मडुरोको आलोचक रहेको अमेरिकाले चुनावी नतिजालाई मान्यता नदिने जनाएको छ ।
भेनेजुयलामा अमेरिकी नाकाबन्दी र राजनीतिक अस्तव्यस्थाले कारण गहिरिएको आर्थिक संकटले मुद्रास्फीति दर सयौं प्रतिशत बढेको छ । मुलुकको मुद्रा बोलिभर लगभग मूल्यहीन भएको छ ।
विकट भागका ७० प्रतिशत बालबालिका कुपोषणको शिकार भएको बताइन्छ ।
जिवनयापनमा कठिनाई भएपछि हजारौं भेनेजुयलाली नागरिक छिमेकी कोलम्बिया वा ब्राजिल जान थालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्