
सप्तरी, जेठ ८ । सप्तरीमा यस वर्ष आँपको उत्पादनमा वृद्धि हुने भएको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीले यस वर्ष आँपका बोटमा राम्रोसँग चिचिला लागेकाले उत्पादन वृद्धि हुने जनाएको हो ।
कार्यालयले यस वर्ष करिब १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरेको छ । गतवर्ष सप्तरीमा प्रतिहेक्टर ६ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो ।
यस वर्ष प्रतिहेक्टर ८ मेट्रिक टनको दरले कम्तिमा पनि ४० हजार टन आँप उत्पादन हुने अनुमान कार्यालयको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख भागिरथ यादवले पूर्वमा कञ्चनरुपदेखि पश्चिममा वलान नदीसम्म पूर्व–पश्चिम लोकमार्ग आसपासमा बढी आँप खेती हुने गरेको बताए ।
सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्