२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ओलीले सांसदहरुलाई भने–‘तर्क र क्षमता बढाउनोस्, आवेशमा आएर नबोल्नोस्’


0
Shares

संघीय संसदमा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे ।

परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नैपर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिले बहुमतप्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने–‘हामीसँग बहुमतप्राप्त सरकार छ । त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।’

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पस्ट पारे ।

प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सन्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनैपनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा नेतृत्वलाई भन्न आग्रह गरेका छन् ।

जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा संसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने–‘अध्ययन गर्ने बानी बसाउनुहोस् । नजानेका कुरा सिक्नुहोस् । तर्क र क्षमता बढाउनुहोस् । आवेशमा आएर नबोल्नुहोस् । जनमतको कदर गर्ने बानी बसाउनुहोस् ।’

जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट छैन : दाहाल
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे ।

उनले करिब दुईतिहाइप्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पस्ट पारे ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम् प्रयास गर्नुपर्नेमा जोड दिए ।

उनले जनताको भावनालाई सम्बोधन गर्नेगरी प्रस्तुत् हुन आग्रह गर्दै जनपक्षीय एजेन्डा स्थापित गर्ने दायित्वलाईसमेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिए ।

विधान मस्यौदा गर्न कार्यदल गठन
बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

कार्यदलमा सांसदहरुमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । सो कार्यदललाई १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत् गर्ने समय दिइएको छ । रासस