काठमाडौं, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सन्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ ।
पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीकाअनुसार दलको सांगठनिक गतिविधिप्रति असन्तुष्ट भइ उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरंकुशता बढ्दै गएको निष्कर्षसहित अध्यक्ष थापाको राजीनामा मागेको हो ।
पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाइएको छ ।
असन्तुष्ट पक्षले पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया सुरु गरेको भन्दै आइतबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।
असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशमशेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार छन् ।
यसैबीच, राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभइ गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने जानकारी गराए ।
पछिल्लो समयमा दुवै पार्टीलाई एकीकरण गर्न अध्यक्षद्वय थापा र राणाबीच छलफल भइरहेको छ ।
राप्रपाका प्रवक्ता भुवन पाठकले केन्द्रीय कार्यसमितिको बैठकले चुनाव चिह्न र सिद्धान्तमा सम्झौता नगर्ने निर्णय गरेको जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्