Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


जोशी अमेरिकी विश्वविद्यालयका ‘पहिलो’ नेपाली डीन


0
Shares

आजभन्दा झन्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आएका छन् ।

डा. जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङबीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुन् ।

केही समयअगाडि नेपाल आएका उनी नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउँछन् ।

‘नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिवर्तन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ’–उनी भन्छन् ।

रासससँग कुरा गर्दै उनले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताए ।

‘अमेरिकामा कक्षा–१२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ’ भन्दै उनले त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउँछन् ।

‘व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ’–उनी भन्छन् ।

अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उनको भनाइ थियो ।

‘पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्यरुपमा बढेको छ’ भन्दै उनले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उनको सुझाव छ । रासस