
सीता पाण्डे/ ईमेज:
पाल्पा, जेठ १० । स्थानीय तहको निर्वाचन भएको १ वर्ष पुगे पनि पाल्पाका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीले सेवा नपाएका मात्रै छैनन् कार्यालयको दैनिक कामकाज समेत अवरोध हुन थालेको छ ।
गाउँगाउँमा सिंहदरबार भन्ने नारासहित स्थानीय निकायको निर्वाचन भएको १ वर्ष पुगिसक्यो । निर्वाचित भएर जनप्रतिनिधि त आए तर गाउँपलिका र नगरपािलकमा कर्मचारीको अभाव छ ।
सरकारले अनुनय विनय गरी कर्मचारीलाई गाउँगाउँमा गई सेवा गर्न अनुरोध पनि गरिरहेको छ ।
तर १० स्थानीय तह भएको पाल्पामा कर्मचारीको अभाव हुँदा एकातिर जनप्रतिनिधिले सोचेअनुसारको काम गर्न सकेका छैनन् भने अर्कोतिर सेवाग्राहीले सहज र सुलभ रुपमा सेवा पाउन सकेका छैनन् ।
कर्मचारीको शहरमुखी प्रवृति भएका कारण उनीहरु गाउँगाउँमा पुगेर सेवा गर्न अटेर गरिररहेका छन् तर त्यसको मारमा भने जनता परेका छन् ।
सरकारले शहरी क्षेत्रमा भएका नीति तथा कार्यक्रम ग्रामीण क्षेत्रमा पनि लागु गरेपनि कर्मचारी त्यसलाई सहज रुपमा स्वीकार्न तयार छैनन् । कर्मचारीको दरबन्दी खाली हुँदा प्राय काम ठप्प भएको छ ।
स्थानीय तहबाट स्वीकृत भएको नक्सामा मात्र घर बनाउन पाइने नियम भएपनि कर्मचारीका अभावमा यो नियम कागजमा मात्र सीमित भएको छ । माथागढी गाउँपालिकाका ८ वडामा ३ सचिवले काम गर्नुपर्ने बाध्यता छ ।
एउटा सचिवले ३ देखि ३ वडाको काम हेर्नुपर्ने भएकोले जनताका काम सहज रुपमा गर्न नसकिएको माथागढी गाउँपालिकाका प्रमुख सन्तोष कुमार थापा बताउँछन् ।
बगनासकाली गाउँपालिकाका पनि ६ जना सुव्बाको दरवन्दी भएपनि अहिले १ जनाले काम चलाउनुपरेको छ ।
प्रत्येक वडामा ९ जना सव ईन्जिनियर हुनुपर्नेमा १ जना पनि सव ईन्जिनियर नहुँदा वडाका कामहरु अवरोध भएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अर्यालको गुनासो छ ।
रैनादेवीछहरा गाउँपालिकामा पनि कर्मचारीको चरम अभाव रहेको गाउँपालिका प्रमुख राम बहादुर कार्की बताए ।
त्यसो त पाल्पाका १० ओटै स्थानीय तहमा कर्मचारीको अभाव छ । जसले गर्दा महत्वपूर्ण कामहरु प्रभावित भइरहेका छन् ।
जसको कारण जनतालाई सास्ती र असुविधा भएको छ । तसर्थ सरकारले अटेरी गर्ने कर्मचारीलाई कारबाही गरी तोकिएको ठाउँमा जसरी भएपनि कर्मचारीलाई तुरुन्त पठाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्