२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो (भिडियो)


0
Shares

इलाम, जेठ ११ । स्थानीय तहको चुनाव भएको एक वर्ष पुगिसकेको छ । तर इलामका नागरिकले भने जनप्रतिनिधिले अपेक्षाअनुसारको काम गर्न नसकेको गुनासो गर्न थालेका छन् ।

करिब एक वर्षअघि चुनावी सरगमका बेला इलाममा ठूलो उत्साह थियो । उम्मेदवारका मिठा–मिठा भाषण र चाखलाग्दा विकासे योजनाले जनतामा पुरै विश्वास नभए पनि केही अपेक्षा भने थियो नै । अधिकार सम्पन्न स्थानीय सरकार दैलोमै पाउने भएकोले स्थानीय तहको चुनावमा जनताको सहभागिता उल्लासमय रह्यो ।

स्थानीय सरकार गठनपछि सामान्य कामका लागि पनि केन्द्रको मुख ताक्नुपर्ने बाध्यता हट्ने र विकासले गति लिने धेरैको अपेक्षा थियो ।

चुनाव भएको एक वर्ष पुरा भइसकेको छ । यतिबेला जनतामा न एक वर्षअघिको जस्तो उत्साह छ, न त्यत्तिकै विश्वास नै । स्थानीय सरकारले एक वर्षमा अनूभूति हुने गरी खासै काम नगरेको कारण उनीहरुमा निराशा पलाउन थालेको छ ।
त्यसो त जनप्रतिनिधिका पनि केही बाध्यता र समस्या होलान् तर सम्भव हुने र गर्न सकिने काम पनि नगरेको स्थानीयको गुनासो छ ।

चुनावको बेला जनप्रतिनिधिले आश्वासनमात्र दिएको र त्यो आश्वासन अहिले आएर सपनाजस्तै बनेको इलाम माईजोग्माई गाउँपालिका–३ का प्रेम सागर पौडेल बताउँछन् ।

जनप्रतिनिधि आइसकेपछि विकासले बाटो समात्छ र सिंहदरबार घर–घरमा आउँछ भनेर ढुक्क भएको तर अहिले सोही अनुसार काम नहँुदा दुःख लागेको देउमाई नगरपालिका शान्तिडाँडाका स्थानीय पदम पोख्रेलको गुनासो छ ।

जनता असन्तुष्ट भए पनि पदाधिकारी भने आफूहरुले निकै गम्भीरतापूर्वक काम गरेको दाबी गरिरहेका छन् । विकासका काममा निरन्तर खटिरहेको र आफ्नो योजना तर्जुमा अनुसारको काम गरिरहेको इलाम नगरपलिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन् ।

जनताले अनुभूति हुने किसिमका काम नभए पनि एक वर्षमा नीति नियम कर्मचारी भौतिक संरचना जुटाउनै खर्च भएको छ । स्थानीय तहमा नीति नियम धमाधम पारित भइरहेका छन् । विकासको स्पष्ट गुरुयोजना नभएको कारण विकास निर्माणमा काम अन्योलमा परेको इलामका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको धारणा छ ।

ठूलो अपेक्षाका साथ स्थानीय सरकारलाई हेरिरहेका जनता अनूभूति हुने काम नहुँदा असन्तुष्ट हुनु स्वाभाविक देखिन्छ । जनप्रतिनिधिका कामलाई स्थानीयले बेलाबेलामा खबरदारी गर्नैपर्छ । साथसाथै सोचेअनुसारका काम नभए पनि स्थानीय सरकार आएपछि धेरै सकारात्मक काम भएको कुरालाई पनि नकार्न सकिँदैन । अबका दिनमा जनप्रतिनिधिले स्पष्ट योजना र रफ्तारका साथ काम गर्न जरुरी छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्