
रुपन्देही, कात्तिक २५ । रुपन्देहीको ओमसतिया गाउँपालिका स्थानीय ताल संरक्षणको गुरुयोजना निर्माणमा जुटेको छ । गाउँपालिकाभित्र रहेका तालको संरक्षणका लागि विस्तृत गुरुयोजना बनाएर पर्यटक भित्र्याउने योजना गाँउपालिकाले बनाएको हो ।
तालको विस्तृत गुरुयोजना निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्य राखिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
गाउँपालिकाको योजनाअनुसार वडा नम्बर ६ का स्थानीयको सक्रियतामा ओमसतिया–६ मै रहेको रामजानकी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । छठ पर्वका अवसरका आयोजना हुने विशेष सांस्कृतिक पर्वलाई समेत लक्षित गरेर सरसफाई गरिएको प्रवक्ता धवलले जानकारी दिए ।
२० वर्षदेखि स्थानीय जनप्रतिनिधिको अभावमा ठोस योजनाको अभाव झेल्दै आएको रामजानकी मन्दिरसँगैको ताल संरक्षणमा जनप्रतिनिधि आएपछि चासो देखाउन थालिएको हो । गाउँपालिकाभित्र रहेका ताल र मन्दिरको विस्तृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाको सभाबाटै निर्णय गराएर करिव २५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । गाउँपालिकाले तालको बीचमा रहेको रामजनकी मन्दिरको स्तरोन्नतिसमेत गर्ने भएको छ । त्यसका साथै ताल परिसरमा विभिन्न खेल्ने झुलासमेत निर्माण गर्ने योजना अगाडि बढाइएको छ । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्