
कपिलबस्तु, जेठ ११ । लोपोन्मुख समुदायलाई राज्यले अपहेलित र उपेक्षित गरेको कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष राजु कुसवाडिया (पथ्थरकट)ले बताएका छन् ।
परम्परागत पेशा लोप हुदैं गएपछि त्यसको विकल्प दिने सवालमा सरकार उदासिन बनेको आरोप लगाउँदै उनले आधुनिक प्रविधिको विकासले लोपुन्मुख कुसवाडिया जातीको पत्थरकट्टा पेशा संकटमा परेको बताए ।
सिलौटाको व्यापार कम भएपछि कुसवाडिया समुदायलाई गुजारा टार्नसमेत कठिनाई भएको उनले बताए । उनले कुसवाडिया समुदायमा पनि छोराछोरीलाई शिक्षित बनाउने चेतनाको विकास हुंदै गएकाले सरकारले शिक्षा तथा रोजगारतर्फ विशेष प्याकेज र सुविधाको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कपिलबस्तुको तौलिहवामा आयोजित कुसवाडिया उत्थान संघको दोस्रो राष्ट्रिय महाधिवेशनका वक्ताहरुले लोपोन्मुख समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउन सरकारले विशेष योजना ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
लोपोन्मुख तथा सिमान्तकृत समुदायहरुको आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्ने आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुगमन तथा तालिम महाशाखा प्रमुख सन्तलाल मेचेको भनाइ छ ।
गाउँगाउँमा साइकल र टाउकोमा राखेर सिलौटा बेच्ने कुसवाडियाहरुको पेशा मसला पिस्ने मिक्सर लगायतका आधुनिक सामानहरुको प्रयोगले संकटमा परेको बताइएको छ ।
कपिलबस्तुमा कुशवाडिया (पथ्थरकट) समुदायको संख्या २७० रहेको तथ्याङ्कले देखाएको छ ।
महाधिवेशनले पुनः राजु कुशवाडियाको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय समितिको उपाध्यक्षमा तारा कुशवाडिया, महासचिवमा नरेश पथ्थरकट, कोषाध्यक्षमा रामजस पथ्थरकट, सचिवमा पुजारी कुसवाडिया छन् । यस्तै सदस्यहरुमा हरिन्दर पथ्थरकट (बारा), सम्भा कुसवाडिया (रुपन्देही), राधेश्याम कुसवाडिया (धनुषा) र शारदा कुसवाडिया (रुपन्देही) छन् ।
प्रतिक्रिया दिनुहोस्