२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारका १०० दिनः सामान्य गति, दर्जन विसंगति : कांग्रेस


0
Shares

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक वक्तव्यमार्फत् सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमी–कमजोरी औंल्याएर ऐनाजस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् ।

प्रवक्ता शर्माले वर्तमान सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो ? भन्ने प्रश्न गर्दै ईश्वर, जनता र देश कसैको नाममा पनि शपथ नगर्नु विसंगतिको सुरुआत भएको भनी टिप्पणी गरेका छन् ।

एकातिर मुलुक संघीयतामा जाने र अर्काेतिर प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकृत गरिएको कार्य अर्काे विसंगतिपूर्ण कदम भएको प्रवक्ता शर्माको टिप्पणी छ ।

सरकारले संविधान संशोधनलाई सत्ताको ‘बार्गेनिङ’ गर्ने उपरकणकारुपमा प्रयोग गरेको आरोप लगाउँदै उनले संविधान संशोधन प्रस्ताव ल्याउँछु भन्ने तर नल्याउने अर्काे विसंगति भएको बताएका छन् ।

सरकारले स्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्षमात्र देखाएर ढुकुटी रित्तो रहेको र अर्थव्यवस्था निराशा छ भन्ने अनि त्यही अर्थतन्त्र राम्रो रहेको आधारमा नीति तथा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्नु दोहोरो चरित्र भएको प्रवक्ता शर्माको टिप्पणी छ ।

उनले ‘सरकार गठन भएको १०० दिन बित्दा पनि न्यायालयलाई नेतृत्वविहीन अवस्थामा राखेको र प्रधानन्यायाधीशको नियुक्त गर्ने टुंगो लगाउन नसक्नु न्यायालयमाथिको अन्याय हो’–भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले प्रदर्शन गरेको चरित्रले यसअघि ‘राष्ट्रवाद’का सम्बन्धमा अभिव्यक्त भएका अभिमतलाई खन्डित गरेको प्रवक्ता शर्माको टिप्पणी छ ।

सरकारबाट कर्मचारी प्रशासनलाई मनोबल बढाउनेभन्दा पनि गिराउने भूमिका निर्वाह भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नेतृत्वले निर्वाचनका बेला ‘अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण र सन्तुलन कायम गर्छौं’ भनेको स्मरण गर्दै सरकार गठनका १०० दिनमा महँगी उकालो लागेको बताए ।

कांग्रेसलाई प्रतिपक्ष दल नरहेको भनी सर्वजनिक भएको प्रधानमन्त्रीको टिप्पणीलाई प्रवक्ता शर्माले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दल हुने र त्यस्तो दलले सरकारका कमी–कमजोरी औंल्याइरहने अवगत गराए ।

यस अवधिमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति राम्रो भएपनि कार्यक्रम नभएको टिप्पणी गर्दै उनले कुनै आधारबिना काम अघि सारेको र एक वर्षमा के काम कसरी गर्ने भनी कहीँ स्पस्ट उल्लेख नगरेको टिप्पणी गरे ।

जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवगत गराउँदै प्रवक्ता शर्माले ‘प्रतिपक्ष दलले सरकारका कमी–कमजोरी र विसंगतिलाई ऐनाकारुपमा चित्रण गरेर सघाउने हो’–भनेका छन् । रासस