
प्रकाश धौलाकोटी
तेह्रथुम, कात्तिक २५ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सके निजीमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित सरस्वती आधारभूत विद्यालयले दिएको छ ।
केही वर्षअघिसम्म विद्यार्थीको अभाव हुने यो विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराउनुका साथै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन थालिएपछि अभिभावकले निजी विद्यालयबाट धमाधम यही विद्यालयमा विद्यार्थी सार्न थालेका छन् ।
बालबालिकालाई निजी विद्यालयमा पढाउने मोह जहाँतहीँ व्याप्त छ । त्यसमा पनि अंग्रेजी भाषामा अब्बल बनाउने भन्दै चर्को शुल्क तिरेरै भएपनि निजी विद्यालयमा पढाउनुपर्छ भन्ने मान्यता पछिल्लो समय स्थापितजस्तै भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केस्थित सरस्वती आधारभूत स्कुलमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजीमा पढाउने अभिभावकको मनस्थिति पनि बदलिन थालेको छ । यस विद्यालयले गुणस्तरीय रुपमा अंग्रेजी माध्यममा पढाउन थालेसँगै अभिभावकले चन्दा उठाएर विद्यालयको पुर्वाधार निर्माण र व्यवस्थापनमा सहयोग गरेका छन् । जसका कारण आर्थिक रुपमा पिछडा वर्गका बालबालिकालाई विशेष राहत मिलेको छ । न्युन लगानीमा सरकारी विद्यालयमै अंग्रेजी पढाउन पाएपछि अभिभावक समेत उत्साहित भएको विद्यालयका पूर्वप्रधानाध्यापक श्रीकृष्ण दाहाल बताउँछन् ।
कक्षा–८ सम्मको पढाइ हुने यस विद्यालयमा अहिले भने ३ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । विद्यालयका अभिभावक र शिक्षाप्रेमीहरुबाट ३ लाख १६ हजार रुपैयाँ संकलन गरी विद्यालयको व्यवस्थापन गरिएको छ । पहिले विद्यार्थीको अभाव हुने विद्यालयमा अहिले २ सय विद्यार्थी आउने गर्छन् । अभिभावकले निजी विद्यालयबाट आफ्ना नानीहरुलाई झिकेर आफ्नो विद्यालयमा ल्याएका प्रधानाध्याक विरेन्द्र मण्डलको भनाइ छ ।
सर्वसुलभ र गुणस्तरीय शिक्षाको लागि सरकारी र सामुदायिक विद्यालय तंग्रिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्