अक्कल कुँवर/शंकर खनाल/राममान डंगोल (इमेज)
काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेस पार्टी विधान संशोधन मस्यौदा समितिले विधान लेखन अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।
विधान संशोधनको मस्यौदा तयार नभएकै कारण दोस्रोपटक सारिएको महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्मका लागि तय गरिएको छ ।
तर, अझैपनि बैठकमा पेस हुने विधान संशोधन मस्यौदा तय हुन सकेको छैन ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले मस्यौदा लेखनको काम अन्तिम चरणमा पुगेको दाबी गरेपनि विधानमा व्यवस्था गर्नुपर्ने आधारभूत विषयमा सहमति जुट्न सकेको छैन ।
महासमिति, केन्द्रीय समिति र पदाधिकारीको संख्या, बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था, संसदीय र अनुशासन समिति गठनजस्ता विषयमा अझै सहमति जुट्न बाँकी छ ।
यस्तै, पार्टी सभापतिको अधिकार, सदस्यताको प्रकृति र वितरण, केन्द्रका पदाधिकारी सबै निर्वाचित हुने कि मनोनयन गर्नेगरी मिश्रित बनाउने भन्ने विषयमा पनि सहमति जुटेको छैन ।
तर, समितिका सदस्यहरुले भने विधान संशोधन मस्यौदाको ९० प्रतिशत काम सकिएको र सर्वसम्मत् पारित गर्नका लागि गृहकार्य भइरहेको दाबी गरेका छन् ।
कांग्रेस नेता भीमसेनदास प्रधानले विधान मस्यौदालाई सर्वसम्मत् पारित गर्नेगरी छलफल भइरहेको बताए ।
नेपाली कांग्रेसको विधानमा महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, २०७२ साल फागुनमा सम्पन्न १३औं महाधिवेशनपछि कांग्रेसको एउटा पनि महासमिति बैठक बस्न सकेको छैन ।
त्यसैले पनि अब हुने महासमिति बैठक पार्टीको आगामी रणनीति तय गर्न महत्वपूर्ण हुने आशा गरिएको छ ।
यस्तै, नयाँ संविधानअनुसार पार्टीको सांगठनिक स्वरुप निर्माण गर्नसमेत बैठक निकै महत्वपूर्ण हुने नेता तथा कार्यकर्ताको विश्वास छ ।
तर, संस्थापन र संस्थापनइतर दुवै पक्ष नेतृत्व आ–आफ्नो पक्षमा पार्न बैठकलाई उपयोग गर्ने रणनीतिमा लागेका छन् ।
दुवै पक्षका नेताहरुको आ–आफ्नो स्वार्थका कारण महासमिति बैठक फेरि पनि सर्नसक्ने हो कि भन्ने आशंका छ ।









प्रतिक्रिया दिनुहोस्