१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


गाउँमा चहलपहल बढेपछि सदरमुकाम सुनसान


0
Shares

प्रकाश नेपाल/ईमेज:
इलाम, जेठ २२ । इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ ।

बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ ।

स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ ।

साना साना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्परा स्थानीय निकायले अन्त्य गरेपछि सदरमुकाममको चहलपहल घट्दै जान थालेको हो ।

पहिलेपहिले निकै भिडभाड र चहलपहल हुने सदमुकाम अहिले सुनसान जस्तै भएपछि व्यापारीलाई चिन्ता थपिएको छ ।

सदरमुकाममा मानिसको आवतजावत् र बसोवास कम हुन थालेपछि व्यापारिक कारोबार पनि ओरालो लागेको छ ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा स्थानीय सरकार बनेपछि गाउँपालिका र नगरपालिकाका केन्द्रमा चहलपहल सुरु हुन थालेको छ ।

पहिले सदरमुकाममा हुने काम गाउँमै हुन थालेपछि होटलमा आउने ग्राहक ह्वात्तै घटेको सदमुकाममा होटल चलाउँदै आएका उदय तामाङ बताउँछन् ।

मानिसहरु गाउँतिर पलायन हुने क्रम जारी रहे सदमुकामका व्यापारी विस्थापित हुने खतरा बढ्न थालेको छ ।

सदरमुकामका साना व्यापारी गाउँपालिकाको केन्द्रमा बसाइँ सरेको बताउँदै आफू भने अन्यौलमा रहेको व्यापारी खगेन्द्र बास्तोलाको भनाइ छ ।

सदरमुकाममा चहलपहल घटेपनि स्थानीय तहमा भने कामको चाप बढ्दै गएको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खतिवडा बताउँछन् ।

गाउँमै सबै सेवासुविधा पाएपछि सदमुकाममा मानिसको चहलपहल घटेको हो । योसँगै सबैजना सदरमुकाममै झुम्मिने परम्पराको अन्त्य हुने देखिन्छ ।

साथै सदमुकामबाट व्यापारी पलायन हुने खतरालाई रोक्न सरोकारवाला निकायले चासो दिनु आवश्यक छ ।